Aamsanchar

एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ

Author Image
बुधवार, फागुन १६, २०८०

विराटनगर – मोरङबाट एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार ५९ जनालाई पक्राउ गरेको हो । अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई यसअघि नै विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरिसकेको छ । अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला गरेपनि प्रतिवादीहरू कैद र जरिवाना भुक्तान नगरिकन भागिरहेको पाइएको कार्कीले बताए ।

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार नै अदालतमा बुझाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु छन् । जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी एसपी कार्कीले दिए ।

 

पक्राउ गरेर प्रहरीले पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर छुटेका छन् ।

मोरङबाट अझै ३ हजार ६ सय ४ जना फरार प्रतिवादी पक्राउ पर्न बाँकी छन् । अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । एसपी कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छन् ।

प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका हुन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’एसपी कार्कीले भने,‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उनका अनुसार अपराधमा संलग्नहरू खुलेआम हिँडडुल गर्दा समाज भयभीत भइरहेको हुन्छ । पीडक पक्राउ नपर्दा अपराधबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको उनले सुनाए । कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएको कार्की बताउँछन् ।

‘प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउँछन् । उनीहरु डर एवं भयबाट मुक्त हुन्छन्,’उनले भने,‘प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्छ । पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने अवस्था हुन्छ ।’

कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनले बताए । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन तथा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरी सक्रियता बढाइएको जानकारी एसपी कार्कीले दिए ।

उनले विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि सबैमा आग्रह गरेका छन् । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर