Aamsanchar

खोप अभियान सफल पार्न कनकाईमा अभिमुखीकरण

Author Image
बुधवार, फागुन १६, २०८०

कनकाई। बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका लागि परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी छ । उक्त अभियान सफल पार्न नगरपालिका लागि परेको हो ।

केहीदिन अघिबाट खोप अभियान सफल पार्न नौ वटै वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको नगरले  मंगलबार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । आज वडा नं. १ स्थित नगरपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्त्वमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सहजीकरण गर्नुभएको थियो । जनस्वास्थ्य अधिकृत पाठकले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
यता नगर प्रमुख पोखरेलले खोपको सही सदुपयोग गरी सबै नानीबाबूहरुलाई खोप लगाउन सहजीकरण गरिदिन सबै विद्यालयका शिक्षकलाई आग्रह गर्नुभएको थियो । उहाँले विध्यालयमा जाने उमेर नभएका नानीबाबुहरुलाई पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार खोप लागाउन अविभावकहरुलाई आग्रह गर्नुभएको थियोे ।
कनकाईमा पहिलो चरणमा नगरका सबै विध्यालयमा र आगामी फागुन ३० गते प्रतेक वडाका प्राथमिक स्वास्थ्य केन्द्रमा अभियान सन्चालन हुने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकारीले जानकारी गराउनुभएको थियोे ।

कनकाईमा ९ महिनादेखि १५ वर्ष मुनिका ६ हजार ७ सय ५६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले बताउनुभयो ।
जसका लागि ५३ जना खोप कर्मी र १ सय ६० जना स्वयंसेविका परिचालन हुने कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले बताउनुभयो ।
आजको अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी , नौ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य , वडा सदस्य , स्वास्थ्यकर्मी , स्वयम्सेविका, टोल संयोजक लगायतलाई अभिमुखीकरण दिएको थियो ।

नगरपालिकाकी सिनियर अनमी टीका दवाडीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो ।
सरकारले अभियान अन्तरगत ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ । पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गरिएको महाशाखाले जनाएको छ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । खोप अभियान ७ चैतसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर