Aamsanchar

मोरङमा एउटा सहकारीको मुख्य र शाखा कार्यालयमा एकैरात १३ लाख चोरी

Author Image
बुधवार, फागुन १६, २०८०

विराटनगर – मोरङमा रहेको एउटा सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयमा एकैरात चोरी भएको छ । सरकारीको झण्डै १३ लाख रूपैयाँ मंगलबार राति चोरी भएको हो । प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फँडानीमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको छ ।

मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ ।

सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधबार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ । ‘सहकारीको पर्खाल नाघेर चोरीमा संलग्न भित्र छिरेको पाइयो । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो,’ उनले भने, ‘सबै गेटको ताला तोड्दै भित्र छिरेर ‘सेफ’ भएको ठाउँमा पुगेको देखिन्छ । ‘सेफ’को लक तोडेर रकम लगेको पाइयो । चोरीमा संलग्नले ताला नै लिएर गएको थाहा भयो ।’

 

उनका अनुसार सहकारी प्रवेश गर्ने मुख्यसहित ४ वटा गेट थिए । तर, मुख्य गेट छाडेर चोरीमा संलग्न पर्खाल नाघेर सहकारीमा छिरेको र ३ वटा गेट भने तोडेको पाइएको भट्टराईले बताए । ‘एउटामा ४ वटासम्म ताला लगाएर गेटलाई दह्रो बनाइएको थियो । तर, ती सबै ताला तोडेर चोरी गरेको पाइएको छ,’ उनी भन्छन्, ‘घटना निक्कै शंकास्पद छ । अनुसन्धान गरेर चोरीमा संलग्न पत्ता लगाउनका लागि प्रहरीलाई भनिसकेका छौं ।’

सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ । उनका अनुसार शाखा कार्यालयमा भने ताला तोडेर मुल ढोका तथा चेन गेट फोड्दै भित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको जानकारी उनले दिए ।

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ । पहिचान गरेर चोरीमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर