Aamsanchar

अमेरिकीसहित १८ देशका सैनिक काभ्रेपलाञ्चोकको पाँचखालमा

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौँ – शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।

फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।

तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताए। उनका अनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सैनिकलाई मद्देनजर गरी तालिम गरिएको हो।१४ दिनको तालिममा १० वटा सैनिक टुकडी विदेशका र दुईवटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताए। नेपालका तर्फबाट निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई समावेश गरेको बताए।

एशियाका नेपाल, बंगलादेश, इण्डोनेशिया, मलेशिया र मंगोलिया गरी पाँचवटा देशमा वार्षिक यस्ता तालिम हुने गरेका छन्। शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताए। शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको उनले बताए।

उनले भने, ‘विदेशमा शान्ति कार्यका लागि जानुअघि वीरेन्द्र शान्ति तालिम केन्द्रमा हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ। यो अभ्यासमा विभिन्न देशका शान्ति सैनिक हुनुहुन्छ। अहिले नेपालसहित १८ देश छन्। सिरिया, पाकिस्तान, बंगलादेश, नेपाल, इण्डोनेशिया, मंगोलिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया रहेको छ। उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छन्। अष्ट्रेलिया र फिजी पनि रहेका छन्। १४ दिनको तालिममा १० वटा सैनिक टुकडी विदेशबाट आएका छन्। हाम्रो देशका दुईवटा सहित १२ वटा छन्।’

अभ्यास तालिमका क्रममा प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताए। उनले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, सैनिक कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने काम लगायत सिकाइएको बताए। शान्ति स्थापनाका क्रममा विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि स्पष्ट पारे।

अभ्यासमा १ हजार १६२ जना सैनिक सहभागी छन्। २८ जना सैन्य अधिकृतहरूले विभिन्न विषयमा तालिम दिइरहेका छन्। युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेशन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर