Aamsanchar

मुस्ताङमा साढे दुई महिनापछि हवाइ सेवा सञ्चालन

Author Image
शुक्रवार, फागुन १८, २०८०

जोमसोम – मुस्ताङमा साढे दुई महिनापछि हवाइ सेवा सञ्चालनमा आएको छ। प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण रोकिएको पोखरा-जोमसोम हवाइ सेवा शुक्रबारदेखि सञ्चालनमा आएको हो।

हिउँदयामको मौसमसँगै पर्यटक अफसिजनका कारण तारा एअरलाईन्सले मंसिर १० गते र सुमित एअरलाईन्सले मंसिर २० गतेदेखि पोखरा(जोमसोम हवाइ सेवा उडान बन्द गरेका थिए।

उडान बन्द भएको साढे २ महिनापछि पोखरा(जोमसोम हवाइ सेवा सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए। उनका अनुसार हिउँदपछि गर्मी सुरु भएकाले शुक्रबार सुमित एअरलाईन्सले पोखरा-जोमसोमका लागि २ वटा उडान भरेको हो। हवाइ मार्ग हुँदै आउने सबै भारतीय पर्यटक रहेका उनले बताए।

पोखरा(जोमसोमका लागि सुमित एअरलाइन्सको जहाजले उडान सञ्चालनमा ल्याएपछि तारा एअरलाइन्सले उडान कहिलेदेखि सुरु गर्ने भन्ने तय भइनसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख शाहले उल्लेख गरे।
मुस्ताङमा पोखरा -जोमसोम हवाइ सेवा सञ्चालना आएसँगै जोमसोम विमानस्थलको पर्यटकीय चहल-पहल बढेको छ। अनुकुल मौसम सुरु भएसँगै सदरमुकाम जोमसोम भारतीय तथा आन्तरिक पर्यटकको आगमन बढेको छ। धेरै भारतीय पर्यटक सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन्। गतवर्ष हवाइ तथा सडकमार्ग हुँदै करिव ९० हजार पर्यटक मुस्ताङ आएका थिए।

यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोम विमानस्थलको सरसफाई तथा धावनमार्गमा उम्रिएका घाँसबिरुवा पन्छ्याउने काम गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)