Aamsanchar

पर्याप्त वर्षा नभइ यस वर्षको हिउँदयाम सकियाे

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाण्डौ – मौसमविद्हरुका पूर्वानुमान विपरीत पर्याप्त वर्षा नभइ यस वर्षको हिउँदयाम सकिएको छ । यसपालि हिउँदमा धेरै पानी पर्ने मौसमविद्हरुले अनुमान गरेका थिए । तर मौसमविद्हरुको अनुमान विपरीत यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन । हिउँदमा सरदर ६० मिलिमिटरमा पानी पर्नुपर्नेमा यसवर्ष त्यसको आधा पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदयाम सकिएलगत्तै आजदेखि प्रि-मनसुन शुरु भएको छ । इस्वी संवतको मार्च, अप्रिल र मे तीन महिना प्रि-मनसुनको समय मानिन्छ । मौसमविद् गोविन्द झाकाअनुसार प्रि-मनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म समयलाई प्रि(मनसुन मानिन्छ । प्रि-मनसुनमा बिहान–बिहान मौसम सफा रहने, दिउँसो बादल लाग्ने र साँझपख मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षा हुने गर्छ ।

आज काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । तराई, मधेशमा बिहानीपख हल्का हुस्सु लागे पनि क्रमशः हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसले सुदूरपश्चिम, कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । भोलि भने यी प्रदेशहरुमा पहाडी भेगमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी र गण्डकी प्रदेश तथा तराई र पहाडी क्षेत्रका एक, दुई ठाउँमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताको मौसम बुलेटिन सार्वजनिक गर्दै यस अवधिमा पश्चिमी वायुुको सामान्य प्रभाव रहने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर