Aamsanchar

विराटनगर महानगरमा दमकलमा पानी भर्न डिप बोरिङ संचालनमा

Author Image
शुक्रवार, फागुन १८, २०८०

विराटनगर – आगलागी नियन्त्रणमा परिचालन गरिने दमकल (वारुणयन्त्र)का लागि आवश्यक पर्ने पानी भर्नका लागि विराटनगर महानगरपालिकामा डिप बोरिङ सञ्चालनमा ल्याइएको छ।

आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो। महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङको परीक्षण सफल भएको छ। विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा डिप बोरिङबाट २ वटा दमकलमा पानी भरेर परीक्षण गरिएको थियो।

नयाँ डिप बोरिङबाट दमकलको ५ हजार लिटरको ट्यांकी २० मिनेट र ३ हजार लिटरको ट्यांकी १२ मिनेटमा भरिने छ। महानगरले विराटनगर बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ सञ्चालन गरेको उपमेयर कार्कीले बताइन्। आगलागी भएमा नियन्त्रणका लागि डिप बोरिङबाट दमकलमा तत्काल पानी भर्न सकिने उनको भनाइ छ।

 

यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भरेर घटनास्थलसम्म पुग्न दमकललाई धेरै समय लाग्ने गरेको थियो। दमकलले पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो। अब दक्षिणी क्षेत्रमा आगलागी भएमा नियन्त्रणका लागि तत्काल पानी भरेर दमकल पुग्नसक्ने मेयर कोइरालाले बताए।

उनका अनुसार अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी छ। सुक्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्दो छ। कोइरालाले आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनोट गरी महानगरले डिप बोरिङ जडानलाई प्राथमिकतामा राखेको बताए।

बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट पानी भरेर तत्कालै नियन्त्रण गर्न सहज हुने मेयर कोइराला बताउँछन्। आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ छ। मेयर कोइरालाले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताए।

वारुणयन्त्रको समेत जम्मेवारी सम्हालिरहेका महानगर प्रहरीका प्रमुख इन्सपेक्टर राजन पौडेलले डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकलमा पानी भर्ने व्यवस्था मिलाइने बताए। पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)