Aamsanchar

२१ लाख ९ हजारसहित हुण्डी कारोबारी पक्राउ

Author Image
सोमवार, फागुन २१, २०८०

वीरगन्ज – बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरी पाँच जनालाई नगद २१ लाख ९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

फागुन १८ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका-६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपैयाँ ल्याउँदै गरेको अवस्थामा भारत बिहारका रन्जित सर्राफलाई पक्राउ गरेको थियो। उनको साथबाट नगद पाँच लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको थियो।

अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसँग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपछि त्यसमा संलग्न अरु चार जनालाई पनि थप १६ लाख ९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले जानकारी दिए। सर्राफसहित कलैया उपमहानगरपालिका-४ मा रहेको आसिफ मनी चेञ्जरका सञ्चालकद्वय कलैया ७ घर भएका कलामुदिन अन्सारी र महागढीमाई नगरपालिका १ का मेराजुल अन्सारीलाई फागनु १८ गते नै पक्राउ गरिएको काफलेले बताए।

 

अन्य दुई भारतीय नागरिकलाई भने फागुन २० गते भारतबाट हुण्डीको रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए। फागुन २० गते बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाबाट भारत बिहारको मोतिहारीका ४२ वर्षीय कृष्णलालप्रसाद यादव र ४० वर्षीय रविशंकर सिंहलाई नेपाली १६ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको उनले बताए।

पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत विना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए। काफलेका अनुसार पक्राउ परेको गिरोहले खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्रयाउने गरेको थियो। बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए। यो गिरोहमा अन्य व्याक्तिहरुकोपनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर