Aamsanchar

रघुगंगामा गुणस्तरहीन मदिरा बिक्रीमा रोक

Author Image
बिहिवार, फागुन २४, २०८०

म्याग्दी – रघुगंगा गाउँपालिका-२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीमा रोक लगाइएको छ। गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रिने न्यून गुणस्तरका मदिरा बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो।

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायत मदिरा बिक्रीवितरण गर्न रोक लगाएको रघुगंगा(२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिए। उनका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्नेलाई कारबाही गर्न थालिएको छ।

बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायत सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका-८ कालिपुलमा रहेको बिक्की एण्ड ब्रदर्सलाई १० हजार रुपैयाँ जरिवाना तिराएको वडाध्यक्ष भण्डारीले जानकारी दिए। उनको फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका १०० बोतल मदिरासमेत जफत गरिएको छ।

गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि १० हजार, दोस्रोपटकका लागि २५ हजार, तेस्रोपटकका लागि ५० हजार रुपैयाँ र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने व्यवस्था गरिएको छ।

‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छौँ’, भण्डारीले भने, ‘नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्री गरे कारबाही गर्न थालेका छौँ।’

भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो। यो वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती-चुरोट बिक्रीवितरण गर्न नपाइने नियममा समेत कडाइ गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर