Aamsanchar

एमालेको युवा संगठन युवा संघद्वारा रौतहटमा चक्काजाम

Author Image
शुक्रवार, फागुन २५, २०८०

रौतहट – नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले रौतहटमा चक्काजाम गरेको छ।

डिभिजन वन कार्यालय रौतहटले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै युवा संघले चन्द्रनिगाहापुरमा एक घण्टा चक्काजाम गरेको हो ।

युवा संघका कार्यकर्ताले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर प्रदर्शन पनि गरे। युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रुपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूले समेत टेण्डर लिन पाउनुपर्ने भन्दै टेण्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए ।

गोप्य रुपमा सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेण्डर पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी लामालाई हिरासतमा राखेको छ ।

दुई महिना पहिला चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फँडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर २ का स्थानीय बासिन्दाहरूले बताएका छन् ।

बिना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत महतोको विरुद्ध चर्को नाराबाजी गरेका थिए।

युवा सङ्घ नेपालको नाराबाजी सहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरमा सयौं सवारी साधन एक घण्टा रोकिन बाध्य भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर