Aamsanchar

पत्रकार सहारा उपचार कोषको अन्तर्राष्ट्रिय झापाली समाज ठुलो रकम दाता बन्यो

Author Image
शनिवार, फागुन २६, २०८०

बिर्तामोड –अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख  रुपैयाँ प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच दुई लाख रुपैयाँको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, संस्थापक अध्यक्ष तथा संरक्षक दीनेशकुमार पोखरेल र मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले यस अघि ५० हजार रुपैयाँ उक्त कोषलाई दिएको थियो । त्यो सहित समाजको सहयोग रकम अढाई लाख पुगेको छ ।

समाजका अध्यक्ष ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार सहारा उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक समेत रहेका पोखरेलले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार सहारा उपचार कोषको प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय झापाली समाज र पत्रकार महासंघ झापावीच गर्विलो सम्वन्ध रहेको भन्दै ढुंगाना र पोखरेलले आगामी दिनमा झापाको विकासमा अझ सहकार्यको आवश्यकता औल्याए ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै उनीहरुले प्रशंसा गरेका छन् ।
विश्वका ४० बढी राष्ट्रमा अन्तर्राष्ट्रिय झापाली समाजको शाखा विस्तार भएको छ । समाजले झापामा मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा विविध काम गर्दै आएको छ । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा अन्तर्राष्ट्रिय झापाली समाजप्रति धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन पोखरेलले कोषका लागि ५१ हजार रुपैयाँको चेक प्रदान गरे । उनले कोषमा आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सो को घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ ।
तस्वीरः बिनोद पाण्डे

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर