Aamsanchar

दिक्तेल अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदै कटौती

Author Image
आइतवार, फागुन २७, २०८०

खोटाङ – खोटाङको दिक्तेल अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदै कटौती गरिएको छ । अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) र दुबेचिवा–साप्सुखोला (४ किलोमिटर)सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदै सडक विभागले कटौती गरेको हो ।

निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको थियो । अहिले सडक स्तरोन्नति आयोजना नै कटौती भएको सडक डिभिजन, हर्कपुरका सूचना अधिकारी इन्जिनियर सुनिल निरौलाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्ष अस्पताल चोक–लफ्याङको दुबेचिवा र दुबेचिवा–साप्सुखोला सडक स्तरोन्नतिका लागि बजेट बिनियोजन गरेको छैन । अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतिको काम झण्डै ७० प्रतिशत सकिएपछि योजना नै कटाइएको हो ।

नाली बनाउने, ह्युम पाइप राख्ने, टेवा पर्खाल बनाउनेलगायतका स्ट्रक्चरको काम झण्डै ९० प्रतिशत सकेर ग्राभेल गर्ने चरणमा योजना कटौती भएको सडक डिभिजन, हर्कपुरले जनाएको छ । निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पतालचोक–दुबेचिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । यस्तै, सगरमाथा सजिव आरएन जेभीले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी दुबेछिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतिको ठेक्का लिएका थिए ।

सगरमाथा सजिवले २०७९ माघ १५ गते सम्ममा सम्पन्न गर्नेगरी २०७८ चैत २९ गते सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । तर गएको असारदेखि दुवै सडक खण्ड स्तरोन्नतिको काम ठप्प भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर