Aamsanchar

दाङका थारु महिला हस्तकलाबाट राम्रो आम्दानी गर्दै

Author Image
आइतवार, फागुन २७, २०८०

घोराही- दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।

सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहजतासँगै बचत समेत गर्नेगरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरीले बताउनुभयो । थारु हस्तकलासम्वन्धि मेह्री हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आउनुभएकी चौधरीले कला संस्कृतिको संरक्षणसँगै आफूहरूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताउनुभयो ।

हस्ताकलाका सामग्री उत्पादन गरेर राम्रो आम्दानी गर्दै आउनुभएकी चौधरीले भन्नुभयो, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएका हस्तकलासम्वन्धि सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।’ उहाँका अनुसार थारु समुदायसँग सम्बन्धित हस्तकलासम्वन्धिको खपत समेत राम्रो हुने भएकाले सामग्री बनाउन सके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने बताउनुभयो ।

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरे पनि पछिल्लो समय फुर्सद नहुनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी मोबाइल हेरेर समय बित्ने गर्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन ।’

उहाँले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आउनुभएको छ । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा २० हजार रुपियाँसम्म कमाउने गरेको बताउनुभयो ।

 

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएका कारण धेरै समय मिल्दैन । हस्तकलाका सामग्री उत्पादनमा मात्र लाग्नुभएका महिलाले महिनामै ३० हजारसम्म कमाउने गर्नुभएको छ ।’

उहाँका अनुसार काठमाडौँमा धेरै बिक्री हुने भएका धेरै सामग्री अर्डर अनुसार उत्पादन गर्नेगरेको बताउनुभयो । हस्तकला उद्योगका माध्यमबाट महिलाले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हट्केस, थाल टोकरी, ट्रेलगायतका सामान उत्पादन गरेर बजारमा पठाउने गरेको बताउनुभयो ।

हस्तकला सामग्री उत्पादनमा समस्या नभए पनि कच्चा पदार्थ भने कपिलवस्तुबाट ल्याउनुपर्ने बाध्यता भएको बताउनुभयो । हस्तकलाका सामग्रीहरू बनाउनका लागि पूजा देउखुरीकै राप्ती नदीको बगरलगायतका ठाउँमा पाइने भएपनि मुज भने कपिलवस्तुबाट ल्याउनुपर्ने चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)