Aamsanchar

पुलमा लागेको आगाे नियन्त्रणमा

Author Image
सोमवार, फागुन २८, २०८०

धनगढी-सुदूरपश्चिम प्रदेशको लाइफ लाइनको रुपमा रहेको कर्णाली नदीमा बनेको पुलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको लम्कीचुहा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाअध्यक्ष लवबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो लगभग ८० प्रतिशत नियन्त्रण आइसकेको छ । २० प्रतिशत बाँकी रहेको आगो पनि केही बेरमै नियन्त्रणमा आउने शाहीले बताउनुभयो । आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाको मधुवन नगरपालिकाको दमकल ल्याइएको छ ।

विरगञ्जबाट लाइटर बोकेर आएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा आज अपरान्ह ५ बजे एक्कासी आगलागी भएको थियो । ट्रकमा रहेको लाइटर एक आपसमा ठोक्किएर पड्किएपछि ट्रकमा आगो लागेको हुन सक्ने वडा अध्यक्ष शाहीको भनाइ छ ।

ट्रकमा लागेको आगो दन्किएपछि चिसापानी पुलको तारसहित अन्य भागमा पनि लागेको थियो । आगलागीबाट पुलको तार र भुइँ भागमा क्षति भएको शाहीले जानकारी दिनुभयो ।

सन् १९९३ मा बनेको यो पुल एक खम्बामा तारहरुको मद्दतले अडिएको छ । यो पुल बनेपछि मात्र सुदूरपश्चिम प्रदेश नेपालको अन्य भूभागसँग जोडिएको हो । पुलमा आगलागी भएपछि अहिले आवतजावत रोकिएको छ ।

महेन्द्रनगरका लागि हिडेको ट्रकमा एक करोड १० लाख रुपियाँ बराबरको लाइटर रहेको बताइएको छ । आगलागीबाट लाइटर जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर