Aamsanchar

विराटनगर महानगरले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने

Author Image
मङ्गलवार, फागुन २९, २०८०

विराटनगर – विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुनेछ ।
स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका लागि सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ छ । महानगरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बताएअनुसार बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ ।
दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवाहरू प्रत्यक्ष रोजगारदातासँग भेट, युवा जनशक्ति र रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने, स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरूको अवरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य रहेको छ । रोजगारको वर्तमान अवस्थाको बारेमा पाश्र्वचित्र र सफलताको कथा, रोजगार तथा उद्यमीसँगको संवाद कार्यक्रम, वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगार खोजकर्ता र रोजगारदाताको तथ्यांक संकलन गरी नमुना रोजगार सेवा केन्द्रमार्फत सहजीकरण हुने अनुमान गरिएको छ । मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गर्नुभयो । “मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्नेछ,” मेयर कोइरालाले भन्नुभयो, “महानगरले आयोजना गर्ने मेलाबाट बढीभन्दा बढी लाभ लिन म आग्रह पनि गर्दछु ।”
स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीपयुक्त जनशक्तिको मागको रहेको छ । यस मेलामा करिब ३ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । सहभागीमध्ये करिब १ सय ५० जनाले रोजगारीको अवसरको सूचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसरको अनुमान गरिएको छ । मेलामा उद्योग, हस्पिटल, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल समावेश हुने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताउनुभयो । मेलामा स्टल निःशुल्क उपलब्ध गराइनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर