Aamsanchar

मुख्यमन्त्री कार्किले राजीनामा नदिए कानुनी हटाउने एमालेको चेतावनी

Author Image
शुक्रवार, चैत २, २०८०

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी (दायाँ)

विराटनगर – नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ ।

शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको राजीनामा माग गरे र नदिए कानुनी रुपमा हटाउने चेतावनी दिए ।

‘‘।भेटेर भन्छौं अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्’, उनले भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं‘। त्यसपछि राजीनामा दिँदाखेरि अफठ्यारो गरी दिनुपर्छ, त्यो राजीनामा सहजतापूर्वक हुनेछैन, उहाँ हट्न बाध्य हुनुहुन्छ ।’

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र कोशीका मुख्यमन्त्री कार्कीबीच बिहीबार भएको छलफलले सरकार नछाड्ने निष्कर्ष निकालेको थियो ।

तर एमालेले भने मुख्यमन्त्री राजनीतिक हिसाबले अल्पमतमा रहेका कारण राजीनामा दिनुपर्ने जिकिर गरे । ‘राजीनामा नदिने हो भने सत्तापक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा छ त्यस्तो अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन’, एमाले नेता भण्डारीले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्‍यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने संविधानको सर्वोच्चता, सवोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौं ।’

केन्द्रमा नयाँ गठबन्धन बनेपनि कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् । कांग्रेसले नेतृत्व गरेको अरु प्रदेशमा मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे पनि कोशीका बर्खास्त गरेका छैनन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुले पनि सरकार छाडेका छैनन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादी पार्टीका एक जना मन्त्री सहभागी छन् । केन्द्रबाट बाहिरिन निर्देशन नआएको भन्दै मन्त्रीहरु नियमित काममा छन् । ‘आज या भोलि माथिबाट निर्देशन आउनेबित्तिकै उहाँहरुले मन्त्री पद छोड्नुहुन्छ र मन्त्री पद छोडेको २४ घण्टाभित्र हामीले केदार कार्कीलाई हटाउने’, एमाले नेता भण्डारीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर