Aamsanchar

विराटनगरमा स्टाफ नर्सको ह*त्या आरोपी युवक मृत अवस्थामा फेला

Author Image
सोमवार, चैत ५, २०८०

विराटनगर – विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगर महानगरपालिका–४ स्थित फाइन होटल एन्ड लजको पंखामा प्लाष्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शिवशंकरलाई होटलको १०२ नम्बर कोठाभित्र आइतबार राति ९:४५ बजेतिर मृत फेला पारिएको हो। कोठाको चुक्कुल भित्रबाट लगाएर झुन्डिएको अवस्थामा शिवशंकर भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल लगेको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए। उनका अनुसार शिवशंकरले आइतबार बिहान ११ बजेतिर होटलको कोठा बुक गरेको देखिन्छ।

 

विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत स्टाफ नर्स २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा गत शुक्रबार शव फेला परेको थियो। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको हो।

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएका थिए। भान्सा कोठामा प्रयोग हुने कटर र चुलेसीले घाँटी काटेर चन्द्रिकाको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ। उनको हत्या बिहीबार नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चन्द्रिकाको हत्या गरेको खुलेपछि प्रहरीले फरार रहेका शिवशंकरको खोजी गरिरहेको थियो। प्रहरीले खोजी जारी राखेका बेला उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका लगभग ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण रहेको प्रहरीको भनाइ छ।

शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। प्रहरीका अनुसार शिवशंकर विदेशमा रहेका बेला चन्द्रिका सिरहा नै घर भएका एक अहेबसँग प्रेम सम्बन्धमा थिइन्। सुरुमा उनले चन्द्रिकाको हत्या गरेको आशंका प्रहरीको थियो। तर, अनुसन्धान गर्दै जाँदा हत्यामा शिवशंकरको संलग्नता देखिएको एसपी कार्कीले बताए।

उनका अनुसार शिवशंकर फागुन २७ गते मेलेसियाबाट नेपाल आएको पत्ता लागेको छ। फागुन २९ गते विराटनगर आएर प्रेमिका चन्द्रिकाकै कोठामा बसेको जानकारी कार्कीले दिए। ‘प्रेममा धोका दिने भएकाले चन्द्रिकाको हत्या गरेको हुनसक्छ,’ उनले भने, ‘उनको हत्यामा संलग्न शिवशंकरले म पनि आत्महत्या गर्छु भनेर दिदीलाई आइतबार दिउँसो फोनसमेत गरेका रहेका छन्।’

हत्यापछि शिवशंकर २ दिनसम्म कता गए भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए। ‘स्टाफ नर्सको हत्यापछि प्राविधिक पाटोको पनि विश्लेषण गर्दै घटनामा संलग्नको खोजी तीव्र पारेका थियौं,’ कार्कीले भने, ‘खोजी गर्ने क्रममै शिवशंकर झुन्डिएको अवस्थामा भेटिएका हुन्।’

प्रहरीले उनको मोबाइल ट्रयाक गर्दा विराटनगरको कन्चनबारी आसपासमा लोकेसन देखाएको थियो। त्यसपछि खोजी गर्दै प्रहरी फाइन होटलको कोठामा पुगेको हो। भित्रबाट चुक्कुल लगाएकाले ढोका खुलेन। त्यसपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा फेला पारिएको एसपी कार्कीले बताए। फाइन होटल नोबेल अस्पतालनजिकै पूर्वतर्फ पर्छ। होटल र चन्द्रिकाको डेराको दुरी लगभग ३ सय मिटर रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर