Aamsanchar

राष्ट्रपतिद्वारा स्वयम्भू महाचैत्यको पूजा

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन्।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आज (सोमवार) आयोजना गरेको कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन्।

विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो। काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ।

करिब ५० लाख रुपैयाँको लागतमा चैत्यको जीर्णोद्वार गरिएको हो। पुरातत्त्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब १०६ मिटर अग्लो छ।

अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराए। सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्यलगायतलाई सम्मान गरेका थिए।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए।

यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्छन्। यस आसपास रहेको अनन्तपुर र प्रतापपुरको पनि केही वर्षअघि जीर्णोद्धार गरिएको थियो।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो। यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले बताए। विश्वशान्ति तथा मानव कल्याणका हेतुले यहाँ विभिन्न धार्मिक गतिविधि गर्ने गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर