Aamsanchar

‘उपमेयरसित गृहिणी’ कार्यक्रम : मदिरा नियन्त्रण र रोजगारी दिनुपर्नेमा जोड

Author Image
बिहिवार, चैत ८, २०८०

विराटनगर – विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न आयोजना गरेको कार्यक्रममा सहभागीले मदिरा नियन्त्रण र रोजगारी दिनुपर्नेमा जोड दिएका थिए। मदिरा सेवनले गर्दा श्रीमान् र ससुराले घरमा दुःख दिने गरेको उनीहरूको गुनासो थियो।

विराटनगर उपमहानगर–१८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणीले समस्या झेल्नुपरेको दुखेसो पोखिन्।

उनले मदिराको बिक्रीवितरण रोक्नुपर्नेमा जोड दिइन्। विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले रोजगारी हुनुपर्नेमा जोड दिइन्।

बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो। विराटनगर–१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन्। उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पोखिन्।

विराटनगर–१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरी गृहिणीलाई स्वरोजगार बनाउन आग्रह गरिन्।

‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम शुरु गरेको छ।

महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनीतिक दलमा आबद्ध नभएका वास्तविक गृहिणीलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन्। अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत्त सबै किसिमका अधिकारबारे सहभागीलाई जानकारी गराएको बताइन्।

मेयर नागेश कोइरालाले आफ्ना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए। उनले केही समस्या परे सिधै महानगरमा आउन समेत अनुरोध गरे। विराटनगरको सरसफाइमा गृहिणीको अहम् भूमिका हुने बताउँदै मेयर कोइरालाले घरआँगनका साथै घर अगाडिको सडक पनि सफा राख्न आग्रह गरे। ‘तपाईंहरूले आफ्नो घरआँगनसँगै अगाडिको सडक पनि सफा राख्नुहोस्’, उनले भने, ‘सबै घरका अगाडि सफा भए समग्र विराटनगर सफा हुन्छ।’

मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन्। यसरी कार्यक्रम गर्दा गृहिणीमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर