Aamsanchar

संसारकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाँटामा फेला

Author Image
आइतवार, चैत ११, २०८०

कञ्चनपुर – संसारकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटिएको छ।

निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखिएको हो। शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको चौधरीले जानकारी दिए।

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीको भनाइ छ। ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पन्छी संरक्षण सङ्घलाई पठाएँ,’ उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।’

नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको डगौराले बताए। अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनको भनाइ छ।

चराविज्ञ डगौराका अनुसार बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन्। तीमध्ये तीन प्रजाति रैथाने हुन्। बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्छन्। बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्छ।

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्छन्। मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ। ‘अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ,’ चराविज्ञ डगौराले भने, ‘घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो।’

चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उनले बताए। नेपालकै मधेश प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताए। ‘उखुबारीमा भएका वेला यस चराको सिकार भएको पाएका छौं,’ उनले भने, ‘होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ।’

छातीमा पहेँलो रङ हुने बगाले बगेडी ९एल्लो ब्रेस्टेड बन्टिङ० चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए। अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्। पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ। सन् १९८० पछि पहिलोपटक देखिएको उनले बताए। यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उनले बताए।

चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन्। बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्छन् भने सिकारी चराको सिकार पनि हुने गर्छन्।

सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर