Aamsanchar

नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा वृद्धि, ५८ जनाले परित्याग गरे

Author Image
सोमवार, चैत १२, २०८०

मोरङ- स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गतवर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरु मात्रै हुने गरेपनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेको बताउनु भयो । एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको बताउनु भयो ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताउनुभयो । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताउनुभयो । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

युरोप, अमेरिकालगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर