Aamsanchar

होलीको दिन ग्याङ फाइट हुँदा दुईजनाको ह*त्या गरेको आरोपी होटल सञ्चालकसहित चार जना पक्राउ

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ – ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुईजनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलवार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चारजनालाई सार्वजनिक गरेको हो। ललितपुर महानगर–२६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुराँमा आइतवार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या आरोपमा होटल सञ्चालकसहित चारजनालाई पक्राउ गरिएको बताए। घटनामा संलग्न एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका–२ सेखुवा घर भई हाल ललितपुर महानगर–२६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका–२ रतन्छाप घर भई हाल ललितपुर–१५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ।

जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भई ललितपुर–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारुङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वारदात पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। अनुसन्धानका लागि अन्य ८ जना व्यक्ति पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। ललितपुर प्रहरीले पुरानो रिसइबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ।

प्रहरीले पाँचजनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ। पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर