Aamsanchar

कालो सिन्दुरे रोगको प्रजाति फेला पर्याे नेपालमा गहुँबालीमा

Author Image
बुधवार, चैत १४, २०८०

काठमाण्डौ – नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति ´यूजी–९९`को ´टीटीकेटीटी`पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको पुष्टि गरेका हुन् ।

केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार वैज्ञानिकहरुले गएको कात्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो रोगको प्रजाति भेटिएको हो । ती ठाउँका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई ुग्लोबल रष्ट रिसर्च सेन्टरु डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा ुटीटीकेटीटीु नामक ´यूजी–९९`को प्रजाति देखा परेको हो ।

यूजी–९९ को ´टीटीकेटीटी` प्रजातिले अफ्रिकन देशमा गहुँबालीमा ८० प्रतिशत भन्दा बढी क्षति पुर्‍याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने आँकलन नार्कका वैज्ञानिकले गरेका छन् ।

गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छ स् तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्छ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे पनि झण्डै २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो ।

त्यसपछि यो प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डनलगायतका देशमा फैलिएको देखिन्छ । ´यूजी–९९´लाई टीटीकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका छन् । ती १५ मध्ये ´टीटीकेटीटी` नेपालमा पनि देखिएको हो ।

यो रोग ´पक्सिनिया ग्रामिनी ट्रिटिसी` नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भैसकेकोले यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसन्धान गर्नु जरुरी रहेको वैज्ञानिकले औंल्याएका छन् ।

केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अरु अवरोधी जातको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकको भनाइ छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डाक्टर कालिकाप्रसाद उपाध्यायकाअनुसार नेपालमा क्षेत्रफलको आधारमा धान र मकैपछि गहुँको स्थान रहेकोमा नेपालमा गहुँको क्षेत्रफल ९५ प्रतिशतभन्दा बढी नेपालमै अनुसन्धानबाट विकास गरिएका जातले ढाकेका छन् ।

विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगको बेलैमा व्यवस्थापन गर्न सकेमा उत्पादन थप बढाउन सकिने डाक्टर उपाध्यायले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)