Aamsanchar

नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै

Author Image
शुक्रवार, चैत १६, २०८०

काठमाण्डौ – नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदैछ । पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक डा। खदर वली सहभागी हुने राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले जनाएको छ ।

महासङ्घका अध्यक्ष पंचकाजी श्रेष्ठका अनुसार कोदोजन्य बालीको महत्व र स्वास्थ्यचेतना बढाउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । आज काठमाण्डौको बत्तीसपुतलीमा हुने कार्यक्रममा नेपालका कृषि विज्ञ र किसान समूहको उपस्थिति रहनेछ ।

पछिल्ला केही वर्षदेखि कोदोलाई अन्तर्राष्ट्रियस्तरमै प्रवद्धन गर्न लागिएको छ । अघिल्लो वर्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्षको रुपमा मनाइएको थियो । नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै देशव्यापी रूपमा कोदोजन्य बाली वर्ष मनाएको छ । २०७७ सालदेखि साउन १५ लाई कोदो दिवसको रुपमा मनाइने गरिएको छ ।

नेपालको तराईदेखि समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ । सबै जिल्लामा कोदो खेती हुने गरे पनि धेरैजसो खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुलीमा बढी हुन्छ । यो बाली कम वर्ष हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चत दुवै अवस्थामा पनि उब्जिन सक्ने भएकाले यसको महत्व छ ।

कोदोजन्य बालीमा कोदो, कागुनु, जुनेलो र चिनो पर्छन् । कोदोको खेती देशका सबैजसो भूभागमा हुन्छ भने कागुनु र चिनोजस्ता बालीको खेती विशेषगरी पश्चिमी भेगमा हुने गर्छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार कोदो पोषिलो अन्नमा पर्छ । स्वास्थ्यको दृष्टिकोणले कोदो महत्वपूर्ण मानिन्छ, तर यसको खेती र उत्पादन घट्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर