Aamsanchar

हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित, पाँच महिनामा छ जनाको ज्यान गयो

Author Image
आइतवार, चैत १८, २०८०

झापा-दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताउनुभयो ।

जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जङ्गली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 84

प्रतिक्रिया (०)