Aamsanchar

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृ*त्यु, खोर खाली

Author Image
सोमवार, चैत १९, २०८०

वीरगञ्ज-पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो ।

बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ । पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिनुभयो ।

दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ । उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)