Aamsanchar

स्वर्गद्वारीमा एक परिवारकै मृत्यु भएको जीप दुर्घटनाको सात वर्षपछि चालक पक्राउ

Author Image
सोमवार, चैत १९, २०८०

काठमाडौं – प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो । २७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको सो कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।

स्वर्गद्वारी मन्दिर दर्शनका निम्ति ललितपुरबाट बा८च१५६१ नम्बरको स्कार्पियो जीप प्युठान पुर्याइएको थियो । जीपमा सातदोबाटोका दिनेशध्वज बस्नेतसहित उनको परिवारका आठजना सवार थिए । ०७३ चैत १० गते बिहान ललितपुरबाट हिँडेको जीप सोही साँझ प्युठान पुगेको थियो ।

त्यसको भोलिपल्ट बिहान बस्नेत परिवार मन्दिर दर्शन गर्ने योजनासहित बास बसेको होटेलबाट निस्किएको थियो । तर, स्वगद्वारी मन्दिर पुग्न करिब तीन किलोमिटर बाँकी हँुदा जीप दुर्घटना भयो । जीप सडकबाट करिब ४०० मिटर तल सखेको थियो । जीपका चालक सरोज थिए ।

४३ वर्षीय दिनेशध्वज, उनकी श्रीमती प्रभा बस्नेत, उनीहरूका छोरीद्वय २१ वर्षीया दीक्षा र नौ वर्षीया दीया, २३ वर्षीया सृष्टि बञ्जाडे खत्री र ४६ वर्षीया अम्बिका गजुरेल गरी दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । सुशीला जिसी र सुनीता श्रेष्ठ घाइते भएका थिए । उपचारका क्रममा बुटवलस्थित अस्पतालमा ५३ वर्षीया सुनीताको मृत्यु भयो ।

मन्दिर दर्शनका निम्ति प्युठान पुगेको बस्नेत परिवारको दर्दनाक सडक दुर्घटनामा परी अन्त्य भएको थियो । चालक सरोज सामान्य घाइते थिए । सामान्य उपचारपछि उनी फरार भएका थिए ।

सरोज सम्पर्कविहीन भएपछि प्रहरीले घटनाको अनुसन्धान समेत अघि बढाएको थिएन । हाल उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं डीएसपी ईश्वर थापाले जानकारी दिए ।

“मुद्दा अदालती प्रक्रियामा नै गएको छैन । अब हामी अनुसन्धान थालेर मुद्दा बुझाउँछौँ,” डीएसपी थापाले  भने ।

उपत्यका प्रहरी कार्यालयको टोलीले सोमबार सरोजलाई प्युठान पठाएको छ । पछिल्लो समय उनले दक्षिण ललितपुर क्षेत्रमा ठूलो सार्वजनिक बस चलाएको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर