Aamsanchar

भोलि बिर्तामोडमा हजारौं सहकारी सदस्यहरू प्रभातफेरिमा सहभागी हुने 

Author Image
सोमवार, चैत १९, २०८०

बिर्तामोड । झापामा १० हजार भन्दा बढी सहकारी कर्मी र सदस्य एकै ठाउँमा भेला हुने भएका छन् ।
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् । सहकारी दिवस मनाउन र सहकारी अभियानलाई अझ सशक्त रुपमा अघि बढाउन सहकारी कर्मी र सदस्य एकीकृत हुन लागेको जिल्ला सहकारी संघ झापाले जनाएको छ ।

संघका अध्यक्ष गणेश ढकालले “सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मूल नारा अन्य थप २९ वटा नारासहित भव्यताका साथ सहकारी दिवस मनाउन लागिएको बताए । ‘अबको सहकारी अभियानलाई सबल र बलियो बनाउन सहकारी क्षेत्रमा सुशासन र प्रविधियुक्त बनाउन जरुरी छ’, उनले भने, ‘२०३० सम्म सहकारीलाई प्रविधियुक्त र एकीकृत गर्ने लक्ष्यका साथ सहकारी महासंघ लागेको छ ।’
सहकारीलाई सुरक्षित बनाउन सुरक्षाका ५ वटा क्षेत्रलाई समेटेर स्मारिका प्रकाशन गर्न लागिएको बताए । ‘अहिले सहकारी र अन्य वित्तीय संस्थाको ऋण खाएको मान्छे ऋण नतिरी एसीसहितको कारमा हिँडिरहेका छन्’, उनले भने, ‘तर, सहकारी संस्थाको सञ्चालक भएकै कारण जेल जानुपर्ने अवस्था रहेको छ ।’ सहकारीमा देखिएको चुनौती र समस्या चिर्दै अघि बढ्न पनि सहकारी दिवसलाई पृथक र भव्य तरिकाले मनाउन लागिएको उहाँले जानकारी दिए ।

संघले सहकारी माथि भइरहेको आक्रमणलाई निस्तेज गर्न सहकारी व्यवसायको सुरक्षामा केन्द्रित भई संघका सदस्य संघ/संस्थाको माग बमोजिम बिर्तामोडमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, उपसमिति, कर्मचारी र सदस्यसहित १० औं हजार सहकारीकर्मीहरुको उपस्थितिमा भव्यताका साथ मनाउने तयारी गरेको हो ।

दिवसलाई सफल बनाउन अध्यक्ष गणेश ढकालको संयोजकत्वमा ५०१ सदस्य मूल समारोह समिति, ४१ सदस्यीय सचिवालय गठन गरी प्रचारप्रसार र कार्यक्रमको भव्य तयारी गरिएको छ । कार्यक्रममा २०० जना स्वयंसेवक परिचालन हुनेछन् ।

चैत २० गते बिहान झाँकीसहितको रयाली निकालिने छ । जसमा पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तरतर्फ महानन्दचोक, दक्षिणतर्फ बिर्ताबजार हँुदै मुक्तिचोक परिक्रमा गरिने छ । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमुखु आतिथ्य रहने संघले जनाएको छ । कार्यक्रममा सहकारी व्यक्तित्व मीनराज कँडेललाई सम्मान गरी सहकारी दिवस मनाउने सम्पूर्ण तयारी पूरा भएको संघका सचिव भानु दङ्गालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर