Aamsanchar

७० प्रतिशत सम्पन्न भयाे पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम

Author Image
मङ्गलवार, चैत २०, २०८०

काठमाण्डौ – मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम झण्डै ७० प्रतिशत सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी अबको तीन महिनाभित्र सम्पन्न गर्नेगरी काम तीव्र पारेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ ।

परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको कार्यालयका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माण अघि बढेको उहाँको भनाई छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कम्पनीले म्याद थपका लागि निवेदन दिएकोले म्याद थपको प्रक्रियामा रहेको पनि प्रमुख उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार अहिले निर्माणाधीन अवस्थामा रहेका दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयल निगमको र अर्को भारतीय आयल निगमको लागतमा बनिरहेका छन् । पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता थियो ।

पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । दोस्रो चरणको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुनेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

यो परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । झण्डै ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार निगमले थप पाँच÷पाँच हजार किलोलिटर क्षमताका दुई टङ्की निर्माण अघि बढाइएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)