Aamsanchar

सुनसरीमा दिनदाहाडै गोली प्रहार गरेर लुटपाट

Author Image
बुधवार, चैत २१, २०८०

विराटनगर – सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ। हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ।

अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन्। अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन। ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ।’

 

गोली प्रहार गरेर लुटपाट गरिएको जानकारी प्राप्त भए पनि अन्सारी भने सकुशल रहेको उनले बताए। उनका अनुसार घटनाका बारेमा प्रहरीले दिउँसो २स्४५ बजेतिर जानकारी पाएको हो। लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ।

घटनास्थलमा पुगेर बुझ्दा पुरानो अपाचे मोटरसाइकलमा सवार रहेका ३ जनाले लुटपाट गरेको जानकारी प्रहरीले पाएको छ। प्रहरीका अनुसार लुटपाटमा संलग्नमध्ये २ जनाले कालो र १ जनाले सेतो रंगको कपडा लगाएको भनिएको छ। सशस्त्र प्रहरीसँग समेत समन्वय गरेर लुटपाटमा संलग्नको खोजी व्यापक बनाइएको जानकारी पोखरेलले दिए। उनका अनुसार मातहतका सबै प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ। प्रहरीले ठाउँठाउँमा चेकजाँचलाई तीव्र बनाउँदै लुटपाटमा संलग्नको खोजी गरिरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर