Aamsanchar

फुङ्लिङमा सञ्चालित आँखा शिविरमा मोतीबिन्दुका रोगीसहित ५७ जना बिरामीको आँखाको शल्यक्रिया

Author Image
बुधवार, चैत २१, २०८०

ताप्लेजुङ-ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमा मोतीबिन्दुका रोगीसहित ५७ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । मङ्गलबार र बुधबार दुई दिन सञ्चालित निःशुल्क आँखा शिविरमार्फत ४८ जना मोतीबिन्दुका रोगी र नौ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको हो ।

मेची आँखा अस्पताल बिर्तामोड, झापाको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले आयोजना गरेको शिविरमा शल्यक्रिया गरिएकोबाहेक ६१६ जनाले आँखाको परीक्षण तथा उपचार सेवा लिएका छन् । फुङ्लिङस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।

केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङका अनुसार शिविरको पहिलो दिन मङ्गलबार नै ४५ जना मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया गरिएको थियो । दोस्रो दिन सोमबार थप तीनजना मोतीबिन्दु भएका रोगीको आँखाको शल्यक्रिया भएको गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार मेची आँखा अस्पतालका मेडिकल निर्देशक डाक्टर पुरुषोत्तम जोशी नेतृत्व टोलीले आँखाका बिरामीको शल्यक्रिया गर्नुभएको छ ।

यता शिविरमा दृष्टिदोषका कारण चस्मा लगाउनुपर्ने झञ्झट खेप्दै आएका बिरामीलाई विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डाक्टर किशोरराज प्रधानले परामर्श सेवासमेत प्रदान गर्नुभएको छ । काठमाडौँमा लेजर सर्जरीसम्बन्धी सेवा प्रवाह गर्दै आउनुभएका डा। प्रधानले शिविरमा आएका बिरामीलाई परामर्श सेवा दिनुभएको नेत्रज्योति सङ्घका जिल्ला उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

एक महिना अघि मात्र नेत्रज्योति सङ्घ ताप्लेजुङले फुङ्लिङमै तीन दिने आँखा शिविर सञ्चालन गरेको थियो । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र सोही अस्पतालका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको संलग्नतामा शिविर सञ्चालन गरिएको थियो । त्यसबेलाको शिविरमार्फत १५४ जना मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर