Aamsanchar

आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाडौं : चालु आर्थिक वर्षको हालसम्म काठमडौं उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।

फेला परेका मोटरसाइकलमध्ये दुई सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार चौबिस वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रनाम ढकालका अनुसार बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा रहेका छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको उनले बताए। पछिल्लो समय चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रुपमा लागेको छ ।

 

यसैगरी आव २०७९/८० मा एक हजार आठ सय ५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये पाँच सय ५१ मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई चार सय ९९ वटा सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको जनाएको छ ।

आव २०७८र७९ मा एक हजार छ सय चारवटा मोटरसाइकल चोरी भएकामध्ये पाँच सय छ वटा प्रहरीले फेला पारेको थियो । चार सय ३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए। सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

´चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारेका छौँ`, प्रहरी प्रवक्ता ढकालले भने, ´यसका लागि विशेष योजना र कार्यक्रम तयार गरी सुक्ष्म तरिकाले निगरानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गरी चोरी भएका मोटरसाइकल पत्ता लगाउने र सम्बन्धित धनीलाई बुझाउने काममा सफलता मिलेको छ ।`

चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ´मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्न थालेका छौँ ।`

चोरीका मोटरसाइकलको पाटपुर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए। आफ्ना सवारी साधन चोरी हुन नदिन सम्बन्धित धनी नै चनाखो हुनु बुद्धिमानी हुने उनको भनाइ छ ।

केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भने, ´चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकरलगायतका उपकरणको जडान गरेर सुरक्षा गर्न सकिन्छ ।`

चोरी हुनबाट सचेत गराउन समयसमयमा प्रहरीले सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम सञ्चालन गर्ने गरेको उनले बताए। धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेका निवेदन आउने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर