Aamsanchar

इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

Author Image
बिहिवार, चैत २२, २०८०

इलाम-आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र –२ को उपनिर्वाचनलाई निर्वाचन आयोगले नमुना निर्वाचन गर्ने भएको छ ।

आयोगको आयुक्त जानकी तुलाधरका अनुसार आज इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि उद्घाटन गरिएको छ । आयुक्त तुलाधरले आयोगको ध्यान इलाम –२ मा केन्द्रित रहेको बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको भन्दै तुलाधरले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न र गराउन राजनीतिक दलहरु पनि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

तुलाधरले यसअघिको निर्वाचनमा पनि आयोगमा आचारसंहिता उल्लङ्घनका ६१७ उजुरी परेको भन्दै कार्वाहीको प्रक्रिया चलाइएको बताउनुभयो । उहाँले तीनसय ५२ लाई स्पष्टीकरण सोधिएको, १९ लाई जरीवाना गरिएको, छ जनालाई सचेत गराइएको बताउनुभयो । तीन जनालाई स्पष्टीकरण निर्देशन गरिएको उहाँको भनाइ छ ।

‘यस पटक इलाममा आचारसंहिता उल्लङ्घन हुँदैन भन्नेमा हामी विश्वस्त छौं । कर्मचारी, दल अथवा कसैबाट उल्लङ्घन हुन्छ भने ऊ आफैं पनि सजागको भागीदर बन्छ’ तुलाधरले भन्नुभयो, ‘आयोगले त्रुटिरहित निर्वाचन गराउँछ ।’

तुलाधरले यस पटक निर्वाचन आयोगले नयाँ मतदाताले पनि मतदिन पाउने नयाँ व्यवस्था गरेको जानकरी दिनुभयो । वैशाख १४ गते १८ वर्ष पूरा भएका मतदाताले पनि वैशाख १५ गते मत हाल्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो । यस पटकको निर्वाचनका लागि इलाम –२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको बताइएको छ । इलाम –२ मा इलाम नगरपालिका, देउमाइ नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका ४२ वडामा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर