Aamsanchar

एक बोरा धानका लागि वृद्धाको हत्या गरेको खुलासा

Author Image
बिहिवार, चैत २२, २०८०

मलंगवा – एक बोरा धानका लागि सर्लाहीको बागमती नगरपालिकामा मंगलबार साँझ वृद्धाको हत्या भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले घटनाबारे सार्वजनिक गरेका छन्।

बागमती नगरपालिका-४ स्थित जिरायतमा बौधी महतोकी श्रीमती ७० वर्षीया पार्वती देवीको हत्या भएको अवस्थामा आफ्नै घरमा शव फेला परेको थियो। घटनाका विषयमा जानकारी पाए लगतै जिल्ला प्रहरीका एसपी ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी घटनास्थल पुगेका थिए।

अनुसन्धानका क्रममा प्रहरीले बुधबार बिहान घटनास्थल नजिकैबाट रौतहटको बृन्दावन नगरपालिका-५, नरकटिया घर भई बागमती आसपासमा काम गरेर बसेका अन्दाजी ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरेको थियो। घटनास्थलबाट एक बोरा धान हराएको र धान पोख्दै लगेको देखिएपछि प्रहरीले पछ्याएको थियो।

 

सोही क्रममा घटनास्थलबाट चौधरीले लगेको धान गाउँ नजिकै बेच्न खोजेको समेत सीसीटीभीमा देखिएको प्रहरीले जनाएको हो। सोही आधारमा पक्राउ गरिएको चौधरीले धान लुट्न लागेका बेला वृद्धाले प्रतिकार गर्न खोज्दा नजिकै रहेको चिर्पट प्रहार भएको एसपी ज्ञवालीले जानकारी दिएका छन्।

प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट बरामद गरेको थियो। चौधरीले पोख्दै लगेको धान समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर