Aamsanchar

बगरफाँट सामुदायिक वनमा चार दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

Author Image
शुक्रवार, चैत २३, २०८०

म्याग्दी – बेनी नगरपालिका २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा मंगलबारदेखि लागेको डढेलो तीनदिन बितिसक्दा पनि नियन्त्रणमा आएको छैन।

बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौं हेक्टर जंगल सखाप पारेको छ। वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएको छ।

मंगलबार दिउँसो शुरू भएको आगोका कारण बगरफाँट र भकिम्लीका लरेनी, बिरखानी लगायत आसपासको वनमा आगो फैलिएको बगरफाँटका तोपबहादुर कार्कीले बताए। ‘आगो नियन्त्रण बाहिर छ। मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुवाँको मुस्लोले बस्तीमा बस्नै गाह्रो भएको छ’, कार्कीले भने। डढेलो फैलिएर बेनी नगरपालिका ३ भकिम्लीको तल्लो बस्तीसम्म पुगेको छ।

वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई मध्यनजर गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीमा सतर्कता अपनाउन अनुरोध गरेको वडाध्यक्ष पदमबहादुर पुनले बताए। आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ। आगो कसरी लाग्यो भन्ने कुरा अझै यकिन भएको छैन।

आगलागीले ससाना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन्। म्याग्दी जिल्लामा विभिन्न सामुदायिक बनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ।

जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचना आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर