Aamsanchar

पाँचथरमा नयाँवर्षको अवसर पारेर चौंरी महोत्सव गर्ने तयारी

Author Image
आइतवार, चैत २५, २०८०

फिदिम – भारतसँगको सीमावर्ती क्षेत्र पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा नयाँवर्षको अवसर पारेर चौंरी महोत्सव गर्ने तयारी छ। पाँचथर सदरमुकाम फिदिममा  पत्रकार सम्मेलन गरी सातौं फालेलुङ ‘चौंरी पर्यटन महोत्सव’बारे जानकारी दिइएको हो।

चैत ३० गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी छ। फालेलुङ गाउँपालि मुख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौंरीपालक तथा संरक्षण संस्था आयोजकका रूपमा छन्।

उक्त अवसरमा पर्यटन र सञ्चारसम्बन्धी अन्तरक्रिया गर्ने तयारी छ। झाँकी प्रदर्शन, याक नृत्य, चौंरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ट पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगितालगायतका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी छ। उक्त अवसरमा ६ सय चौंरीहरू प्रदर्शन गर्ने फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिए।

 

नेपालको फालेलुङ गाउँपालिका र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सव गर्न लागिएको हो। चौंरी संस्कृतिलाई संरक्षण गर्न महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए। ‘चौंरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पत्ति पनि हो,’ थाम्सुहाङले भने, ‘चौंरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको हो।’

यस क्षेत्रमा दर्जनौं चौंरी गोठहरू छन्। महोत्सवले यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने विश्वास गरिएको छ। विगतका महोत्सवहरूकै कारण यस क्षेत्रमा पर्यटकहरूको चाप बढेको आयोजक संस्था दीपज्योति क्लवका कार्यकारी निर्देशक सुनील बान्तवाले दाबी गरे। बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने माहोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ।

पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाडौंं, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो। महोत्सवमा चौरीको दूधबाट बनाइएका परिकारहरू, चौंरी र भेडाको उनबाट बनेका वस्तुहरू र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य वस्तुको स्टलहरू राख्ने तयारी छ। ९ लाखको अनुमानित लागतमा महोत्सव सम्पन्न गर्ने लक्ष्य राखिएको हो।

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष थाम्सुहाङसहित उपाध्यक्ष महेन्द्रहाङ जबेगु, प्रवक्ता भरत खपाङ्गी, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे लगायत आयोजक संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर