Aamsanchar

उद्योगीद्वारा लोडशेडिङको तालिका उपलब्ध गराउन माग

Author Image
आइतवार, चैत २५, २०८०

काठमाण्डौ – उद्योगीहरूले चर्को लोडशेडिङका कारण उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले विना जानकारी १५ घण्टासम्म बिजुली कटौती गरिरहेकाले उद्योग निकै समस्यामा परेको उनीहरूको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार अग्रवालले अहिले एक त बजारमा माग कम भएर उद्योग पूर्ण क्षमतामा नचलेको र त्योमाथि अघोषित लोडशेडिङले गर्दा उद्योगी हैरान भएको बताउनुभयो । राष्ट्र बैंकको गलत नीतिका कारण २५ प्रतिशत उद्योग बन्द भएका र बाँकी रहेका उद्योगले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै उत्पादन गरिरहेको अवस्थामा लोडशेडिङले गर्दा त्यै ३० प्रतिशत पनि उत्पादन नभएको अग्रवालले उज्यालो रेडियो नेटवर्कसँग भन्नुभयो ।

अघोषित लोडशेडिङको समस्या तत्कालै समाधान नभएमा छोटो समयमै थुप्रै उद्योग बन्द हुने नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार अग्रवालको भनाइ छ । उहाँले बरु लोडशेडिङको तालिका नै निकालिदिएमा आफूहरूलाई सजिलो हुने पनि बताउनुभयो ।

‘बिजुलीको समस्या आजको भोलि नै समाधान हुने विषय होइन, राज्यले यो विषयमा अलि गम्भीर भएर निर्णय गर्नुपर्थ्यो, समस्या आउनेबित्तिकै तात्तिएजस्तो गर्ने तर अरू बेला चुप लाग्ने गलत प्रवृत्तिले हामी समस्यामा परेका हौँ’, उहाँले भन्नुभयो ।

यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अध्यक्ष गणेश कार्कीले राज्यले सही समयमा सही निर्णय लिन नसक्दा अझै केही वर्ष लोडशेडिङको समस्या समाधान नहुने बताउनुभयो । जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानमा तत्परता नदेखाउने र विद्युत् खरिदरबिक्री सम्झौता ९पीपीए० नखुलाउनु नै अहिलेको समस्याको मुख्य कारण भएको कार्कीको भनाइ छ ।

‘जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्‍यो, पीपीए खुलाउनुपर्‍यो, दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्‍यो, तब मात्रै हामीले ऊर्जा सङ्कटलाई पार लगाउन सक्छौँ । अहिलेकै अवस्थामा त केही वर्ष लोडशेडिङ नै हुन्छ’, कार्कीले भन्नुभयो ।

गएको जेठदेखि कात्तिकसम्म झन्डै १४ अर्ब रुपैयाँको बिजुली भारतलाई बेचेको विद्युत् प्राधिकरण अहिले देशभित्रकै माग धान्न नसकेर हैरान भएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म सम्पन्न भएका आयोजनाबाट बर्खायाममा ३२ सय मेगावाटसम्म बिजुली उत्पादन हुन्छ तर सुक्खा समयमा भने उत्पादन घटेर १३ सय मेगावाट हाराहारीमा झरेको छ । माग १९ सय मेगावाटसम्म पुगेको छ ।

अहिले प्राधिकरणले भारतबाट दिउँसोको समयमा चार सय मेगावाट बिजुली आयात गरे पनि रातिमा निकै महँगो हुने भएकाले आयात बन्द गरेको छ । त्यही भएर औद्योगिक क्षेत्रमा चर्को लोडशेडिङ भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर