Aamsanchar

हेटौँडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

Author Image
सोमवार, चैत २६, २०८०

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता पाएको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी सस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता पाएको हो ।

लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख मीनाकुमारी लामाले हेटौँडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उहाँले हेटौँडा बजार सहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पहिलो चरणमा हेटौँडामा रहेको साना तथा ठुलो होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने बताउनुभयो ।

खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ को नियम २८ अनुसार गुन्द्रुक निर्यातका लागि अनुज्ञापत्र प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा।क्षितिज श्रेष्ठले बताउनुभयो । मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएका उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो ।

उपमहानगरपालिकाको एक लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो । गाउँमा आयआर्जनका लागि केही काम नभइ बसेका हामीलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । ´यसै बसेका थियौं, काम गर्नका लागि लगानी गरिदिने नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं,`अध्यक्ष गुरुङले भन्नुभयो । नगरको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उहाँले बताउनुभयो ।

अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखेको उहाँले जानकारी दिनुभयो । अब बजारीकरणको बाटो खुलेको छ, उपमहानगरले सहयोग गरे हामी समूहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउने बताउनुभयो । गत असोजमा कामको लागि सम्झौता गरेसँगै समुहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उद्योग शाखाको तथ्याङक अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २६८ जना उद्यममा जोडिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर