Aamsanchar

महानगरद्वारा नेशनल मेडिकल कलेजमा छापा

Author Image
सोमवार, चैत २६, २०८०

वीरगन्ज – वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए। सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो।

त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेका अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमा पनि म्याद गुज्रिएका औषधि भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए। अनुगमन टोलीमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल पनि सहभागी थिए।

 

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधि बरामद गरिएको पटेलले जानकारी दिए। उनले भने,‘ल्याबमा बिरामीको रगत परीक्षणमा प्रयोग गरिने केमिकलहरू म्याद गुज्रिएको भेटियो। फ्रिजमा राखिएका केमिकल पनि म्याद गुज्रिएको भेटियो। सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरू भेटिए। यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधिहरू डेट एक्स्पायर भएको फेला पर्‍यो।’

ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधि फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरीक्षक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए।

यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे। उनले भने,‘ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधि भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। म्याद गुज्रिएका केमिकल र औषधिपनि प्रहरीले नियन्त्रणमा लिएको छ।’ यस बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरीक्षक ढुंगेलसँगै वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रम्हदेव यादव , घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो ,औषधि व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतको पनि सहभागिता थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर