Aamsanchar

जललजामा हुक्का र गुणस्तरहीन मदिरा सेवनमा प्रतिबन्ध

Author Image
बुधवार, चैत २८, २०८०

बेनी – पर्वतको जललजा गाउँपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ। जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको स्थानीय तह हो।

चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार सोमबारदेखि सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिबन्ध लगाइएको हो।

हुक्काको साथै सस्ता र गुणस्तरहीन मदिरालाई पनि रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए। हुक्का प्रयोगमा प्रतिबन्ध लगाउनु अघि होटल र व्यवसायीहरुसँग छलफल गरिएको थियो।

स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने, हानिकारक र लागु औषधको लत बसाउने भएकाले हुक्का प्रयोग गर्न प्रतिबन्ध लगाएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

‘हुक्का खैनी, चुरोटभन्दा पनि बढी हानिकारक सुर्तिजन्य पदार्थ हुक्का किशोर किशोरीहरुलाई लागु औषधको लतमा फलाउने कारण बनेको छ,’ उनले भने ‘सामाजिक र सुरक्षा चुनौति बढाएकाले नगर क्षेत्रमा हुक्का प्रतिबन्ध लगाइएको हो।’

यसअघि म्याग्दीको बेनी नगरपालिकाले किसोर-किसोरी तथा युवा-युवतीमा मौलाउँदो हुक्का विकृतिलाई रोक्न फागुन १६ गतेदेखि होटल, रेष्टुरेन्टसमेत सार्वजनिक स्थलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने हुक्का बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएको थियो।

बेनीमा प्रतिबन्ध लगाएपछि हुक्काका अम्मलीहरु पर्वतको जलजला, म्याग्दीकै रघुगंगा र मंगला गाउँपालिकामा जान थालेका थिए। रघुगंगा गाउँपालिकाले पनि हुक्का सेवन र बिक्री वितरणमा रोक लगाउने तयारी गरेको छ।

हुक्का सेवन गर्ने युवा बढ्दो क्रममा छन्। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न फ्लेबर (स्वाद)मा पाइनुले युवा पुस्ता यसप्रति आकर्षित भएका हुन्। कफी पसल, रेष्टुरेन्ट र बार हुक्का सेवन स्थल हुन्।

हुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बनेको जलजलाका उपाध्यक्ष दिपक आचार्य बताउँछन्। हुक्काले सामाजिक मर्यादा भत्काएको छ। स्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदनहरुका अनुसार एक पटक हुक्का सेवन गर्दा १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु बराबर हो भनिएको छ।

एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु जस्तै हो। हुक्कामा निकोटिन, भारी धातु, कार्वन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ। जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्याधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मुत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढ्ने चिकित्सकहरुले बताएका छन्।

धुम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धु्रमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुण बढी हुन्छ। निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानीयस्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानीकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख भए अनुसार स्थानीय तहहरुले होटल तथा रेष्टुरेन्ट ब्यवसायीकै सहकार्यमा सार्वजनिक स्थलमा हुक्का सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएका हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर