Aamsanchar

सिन्धुपाल्चोकका राम बहादुरको हत्यामा संलग्न उनकी श्रीमतीसहित चार अभियुक्त कारागार चलान

Author Image
बिहिवार, चैत २९, २०८०

पर्वत : मादी गाउँपालिका-१ ताउरेती नजिकै पुरुषको हत्या प्रकरणका चारजना कारागार चलान भएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्देका ३६ वर्षीय राम बहादुर तामाङको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमती ३५ वर्षिया च्याङमा लामा तथा पेम्वा भनी चिनिने कान्छी लामा तामाङ, सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका–१ का ३० वर्षीय धनबहादुर लामा र १८ वर्षमुनिका दुई बालक गरी चारजना पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार उनीहरूमाथिको अनुसन्धान प्रक्रिया पूरा गरी कास्की जिल्ला अदालतमा मुद्दा पेस हुँदा धन लामा तथा मृतक रामबहादुरकी कान्छी श्रीमती भई धनबहादुरसँग प्रेमसम्बन्धमा रहेकी कान्छी लामा तामाङ पुर्पक्षको लागि कारागार थुनामा गएका छन्। अन्य दुई जना भने १८ वर्ष उमेर नपुगेकोले पुर्पक्षका लागि बाल सुधार गृह चलान भएका छन्।

सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटर तामाङको शव पाखामा फेला परेको थियो। अनुसन्धानका क्रममा टाउकोमा पछाडिबाट ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको थियो। त्यसमा उनकै श्रीमती कान्छी लामा तामाङ र तामाङका प्रेमी ३० वर्षीय धनबहादुर लामा संलग्नता देखिएको थियो। कान्छी लामा मृतक रामबहादुर तामाङसँग अलग्गिएर बस्न योजना बनाएको र त्यसका लागि केही रकम समेत तयार रहेको कुरा आफ्नो प्रेमी अभियुक्त धन लामालाई बताएको खुलेको थियो।

धनबहादुर र रामबहादुरबीच पुरानो रिसिइवी थियो। पाँच वर्ष अगाडि सिन्धुपाल्चोकस्थित एक हाइड्रोपावरमा उनीहरूबीच झगडा थियो। कान्छी लामाले समेत पन्छाउनुपर्यो भन्दै पैसासमेत दिने प्रस्ताव गरेपछि हत्याको योजना बनेको थियो। गत चैत १ गते हाइड्रोपावरतर्फ जाने क्रममा मृतक र हत्याअभियोगी धनबहादुरले बाटोमा मादक पदार्थ सेवन गरेका थिए। यस क्रममा रामबहादुरले गाली गरेपछि धनबहादुरले योजना अनुसार पछाडिबाट ढुङ्गाले टाउकोमा प्रहार गरेका थियो। त्यसपछि घिसार्दै बाटो भन्दा २५ मिटर तल लगी खोल्सामा फालेको बयान अभियुक्तले दिएको प्रहरीले जनाएको छ।

रामबहादुरको हत्या गरेपछि धनबहादुरले कान्छी लामालाई फोन गरेर अन्य दुई जनाले हत्या गरेको देखेकाले उनीहरूलाई चुप राख्न पैसा पठाउन भनेका थिए। कान्छी लामाले ‘ई सेवा’मा जम्मा गरिदिएको ९० हजार निकाल्न मुख्य अभियुक्त धन लामा नै काठमाडौँ पुगेर रकम निकालेका थिए। उक्त रकमबाट २०–२० हजार रुपैयाँ छे दोर्जे लामा र फुर्वा लामालाई दिएको तथा बाँकी रहेको ५० हजार रुपैयाँ आफूले नै राखेको बयानका क्रममा खुलेको छ।

मृतक रामबहादुर र कान्छी लामाबीच ५÷६ वर्ष अगाडिदेखि नै मनमुटाव थियो। त्यसैले उनीहरू छुट्टाछुट्टै बस्ने गरेको समेत पाइएको छ। अर्को बिहे गरेको थाहा पाई जेठी श्रीमतीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बहुविवाह मुद्दामा जाहेरी दर्ता गराएपछि रामबहादुर कारागार चलान भएका थिए। अदालतको आदेश अनुसार ६-७ महिनामा कारागारबाट निस्किएपछि कान्छी र रामबहादुरबीच मनमुटाव हुन थालेको पाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर