Aamsanchar

विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क

Author Image
शुक्रवार, चैत ३०, २०८०

सुर्खेत – मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क दिने भएको छ।

गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत मासिक घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए। नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ।

विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो। परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ। नागरिकताका आधारमा पाँच पोका नुन लिन विपन्न समुदाय गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ। वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुनेछ।

नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ। अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताए। सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासी भइरहेको उनले बताए।

‘हामीले आफैँलाई गरिब सोचेर समस्या भयो’, नगरप्रमुख भामले भने, ‘कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ। बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ।’

कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)