Aamsanchar

इलामका विद्यार्थी उपनिर्वाचनमा मतदान गर्न वञ्चित हुने

Author Image
शुक्रवार, चैत ३०, २०८०

इलाम- आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदै छ । यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख १६ बाट परीक्षा सुरु हुँदै छ । कक्षा १२ को घर पायक परीक्षा केन्द्र नहुँदा १५ गतेको निर्वाचनमा मत खसाल्न उनीहरूलाई समस्या हुनेछ ।

इलाम– २ का छ वटा विद्यालयमा मतदान केन्द्र पनि रहेको छ । भानु मावि चुलाचुली, सिंहदेवी मावि फाकफोकथुम, भानु मावि मङ्गलवारे र अमर उच्च मावि बरबोटेका रहेका परीक्षा केन्द्रहरूमा मतदान केन्द्र पनि रहेका छन् ।

एउटा विद्यालयमा करिब दुई सय जना विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्ने छन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा लेखेर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ ।

यसै गरी स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहान देखि हुँदै छ । सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थीहरू १५ गतेको मत खसालेर आउन नसक्ने अवस्था रहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक सङ्घकी कोषाध्यक्ष विमला पोख्रेलले बताउनु भयो । ‘१५ गते मतदान केन्द्रमा मत खसालेर १५ गते नै सदरमुकाम आउन टाढाका विद्यार्थीलाई सम्भव हुँदैन ।’ पोख्रेलले भन्नुभयो ‘कति पय विद्यार्थी जिल्ला बाहिरै अध्ययनरत रहेकाले उनीहरूलाई पनि मतदानमा आउन र परीक्षा दिन जान सम्भव देखिएन । निर्वाचन आयोग र परीक्षा बोर्ड बेलैमा परीक्षाको मिति प्रति गम्भीर हुनुपर्ने थियो ।

यो मतदानमा विद्यार्थी मात्र होइन परीक्षामा खटिएका शिक्षकहरू पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था रहेको बताइएको छ ।

वैशाख १४ गते बिहान ८ बजे देखि ११ बजे सम्म परीक्षा रहेकाले त्यसपछि मात्र मतदान केन्द्र निर्माण गर्ने तयारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । ‘परीक्षा सकिएपछि मतदान केन्द्रको तयारी गर्ने ती विद्यालय व्यवस्थापन समिति र मतदानमा खटिइने कर्मचारी सँग कुरा भएको छ ।’ यादवले भन्नुभयो ‘मतदानमा त कुनै पनि समस्या हुँदैन ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर