Aamsanchar

वसन्तयामका लागि हिमाल आरोहण शुरु

Author Image
आइतवार, वैशाख २, २०८१

काठमाण्डौ – वसन्तयामका लागि नेपालका हिमालमा आरोहण शुरु भएको छ । मकालु र अन्नपूर्ण–१ मा शिखरसम्म डोरी बाटो बनाउने काम पूरा भएर आरोहण शुरु भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । बाटो बनाउनेहरू डोरी र भर्‍याङ राख्दै शिखरसम्म पुगिसकेपछि मौसमको अनुकूलअनुसार आरोहीहरू शिखरतर्फ जान्छन् ।

यस वर्ष वसन्तयाममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा पाँच सय ४३ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ३७ करोड ७३ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यस वर्ष सगरमाथामा भने आरोहीको सङ्ख्या घटेको छ । अहिलेसम्म सगरमाथा आरोहणका लागि दुई सय ३४ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

गएको वर्ष सन् २०२३ मा चार सय ७८ जना आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए । आरोहणका लागि धेरैजसो आरोहीहरू आधार शिविरतर्फ गइसकेकाले अब अनुमति लिनेको सङ्ख्या धेरै नथपिने पर्यटन व्यवसायीहरू बताउँछन् । यस वर्ष सगरमाथामा बाटो बनाउने काम पनि ढिलाइ भइरहेको छ ।

खुम्बु आइसफलमा गएका वर्षहरूमा प्रयोग गरिँदै आएको बाटो यस वर्ष नभेटिएपछि नयाँ बाटो पहिचान गर्न समय लागेको आइसफल डाक्टरहरूले बताएका छन् ।

यस वर्ष सन् २००४ मा प्रयोग गरिएको बाटोलाई प्रयोग गर्ने गरी निर्माणको काम भइरहेको छ । हिउँको जङ्गल भनेर चिनिने खुम्बु आइसफललाई सगरमाथा आरोहणमा बाटो बनाउँदा मुख्य चुनौतीको रूपमा लिइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर