Aamsanchar

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’, सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने

Author Image
सोमवार, वैशाख ३, २०८१

काठमाडौं – नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने भएको छ।

दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सुरुङ मार्गको ब्रेक थ्रु हुन लागेको हो। आज ब्रेक थ्रु भएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ। सुरुङ निर्माण आयोजनाका उप(आयोजना निर्देशक गोविन्द दुमरुका अनुसार काठमाडौंको बलम्बुबाट साढे आठ किमि दूरी रहेको सिस्ने खोलासम्मको यात्रामा छोट्टिएर २ दशमलव ६८८ किमिमात्रै हुनेछ।

फागुनमै यसको ‘ब्रेक थ्रु’ गर्ने भनिएको भए पनि स्थानीयको अवरोधले रोकिएको थियो। मुख्य सुरुङ २ दशलमव ६८८ किमि र आपत्कालीन सुरुङको दूरी २ दशलमव ५५७ किमि छ ।

आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ, पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच नौ बुँदे सहमतिपछि चैत ६ देखि निर्माण सुरु भएको थियो।

ब्रेक थ्रुपछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ। स्थानीयले अवरोध गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन्।

बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २ दशमलव ३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ। धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । ‘फ्लाइओभर निर्माण र बलम्बुबाट सुरुङसम्म पुग्ने सडक कालोपत्रको काम धमाधम भइरहेको दुमरुको भनाइ छ।

सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको उनको भनाइ छ।

मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।

सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ। त्यसका लागि काठमाडौंतर्फ प्राविधिक बस्नेछ। सुरुङमार्गमा सवारीसाधन चलाएबापत टोल शुल्क लिनेबारे चर्चा भइरहे पनि यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ।

यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर