Aamsanchar

पत्रकार सहारा उपचार कोषमा एक करोड रूपैयाँ पुगेको घोषणा, दाताहरूलाई सम्मान

Author Image
सोमवार, वैशाख ३, २०८१

झापा –  नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड रुपैयाँ पुर्याएको छ । आज एक कार्यक्रमका बिच एक कराेड १ लाख ११ हजार १११ रूपैयाँ पुगेकाे घाेषणा गरिएको हाे ।
८ बर्षअघि पत्रकार महासंघ झापाले स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका हुन् । साथै पूर्व राष्ट्रपति डा. यादवले सोही समारोहमा डिजिटल प्रविधिबाट पत्रकार महासंघ झापाको स्तरोन्नति गरिएको कार्यालय भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले २०४६ र २०६२/०६३ को जनआन्दोलनमा पत्रकारले निर्वाह गरेका योगदानका कारण देशमा परिवर्तन आएको बताए । उनले नेपाली पत्रकारिता जगत साउथ एसियामै सबैभन्दा अग्र स्थानमा रहेको जिकिर गरे । झापामा स्थापना गरिएको उपचार कोष अन्य जिल्लामा पनि विस्तार गरिनु पर्ने उनले बताए । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते उपचार कोषको स्थापना गरेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए ।
महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख गरी ९ लाख रुपैयाँ जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड १ लाख ११ हजार १११ जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए ।
उनका अनुसार कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम विभिन्न दाताहरुले दिएको उनको भनाई छ ।
अब छिट्टै सोही अक्षयकोषबाट ६५ बर्षमाथिका अग्रज पत्रकारहरुलाई औषधि खर्च वापत मासिक रकम प्रदान गरिने योजना रहेको उनले बताए ।
सोही कार्यक्रममा पत्रकार उपचार कोषमा सहयोग पुर्याएका दर्जनौं दाता, संघसंस्था, पत्रकारहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मतकुमार कार्की, उद्धव थापा, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघ झापाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर