Aamsanchar

भोजपुरमा वैद्य समूहका कार्यकर्ताले लुकाएर राखेको थप २१ राउण्ड गोली बरामद

Author Image
बिहिवार, वैशाख ६, २०८१

विराटनगर – भोजपुरबाट पक्राउ परेका वैद्य समूहका कार्यकर्ताले लुकाएर राखेको अवस्थामा थप २१ राउण्ड गोली बरामद भएको छ। एउटा म्याग्जिन पनि बरामद भएको प्रहरीले जनाएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियार गत आइतबार राति हतियार र गोलीसहित पक्राउ परेका थिए। अपराधिक पृष्ठभूमि भएका परियारलाई इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले षडानन्द नगरपालिका–९ भुल्केस्थित जंगलबीचको मूल बाटोबाट पक्राउ गरेको थियो।

पक्राउ परेका बेला उनको साथबाट सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, ११ राउण्ड गोली, ९ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको थियो। अनुसन्धान गर्दै जाँदा परियारले लुकाएर राखेको अवस्थामा थप २१ राउण्ड गोली र एउटा म्याग्जिन बरामद गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।

 

उनका अनुसार टेम्केमैयुङ–१ तिम्माबाट थप गोली र म्याग्जिन बुधबार बरामद गरिएको हो। अझै पनि गोलीलगायतका वस्तु लुकाएर राखेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको पाठकको भनाइ छ। उनका अनुसार आइतबार बिहान षडानन्द–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियार देखाएर परियारले लुटपाट गरेका थिए।

षडानन्द–९ स्थित जुगे जंगलमा शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर फरार भएका व्यक्तिको खोजतलासमा क्रममा उनी पक्राउ परेका हुन्। परियारले लुटपाटमा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी पाठकले बताए। उनका अनुसार विभिन्न स्थानमा भएका अन्य अपराधिक घटनामा पनि उनी संलग्न भएको हुनसक्ने आशंका छ। अन्य अपराधमा संलग्नताको विषय अनुसन्धानपछि यकिन हुने पाठकको भनाइ छ।

अपराधिक पृष्ठभूमिका परियार यसअघि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर छुटेका थिए। ३ वर्ष ६ महिना जेल बसेर छुटेपछि पुनः उनी अपराधमा संलग्न बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार वैद्य समूहमा प्रवेश गर्नुअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा ९बहुमत०मा आवद्ध भएर विभिन्न अपराधमा संलग्न भएको पत्ता लागेको छ।

यसअघि उनी २०७६ साल फागुन २१ गते पहिलोपटक पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरीले संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर एवं जेसीबीमा आगजनी तथा राज्यविरुद्धको कसूरसमेतका ५ वटा मुद्दा चलाएको थियो।

अदालतले दोषी ठहर गर्दै उनलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो। सजाय भुक्तानका लागि कारगार चलान गरिएका परियार २०८० साल भदौमा जेलमुक्त भएका थिए। अहिले उनीविरुद्ध हातहतियार खरखजना र डाँका मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर