Aamsanchar

डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको संख्या १ सय २० पुग्याे

Author Image
आइतवार, वैशाख ९, २०८१

डोल्पा – हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको संख्या १ सय २० पुगेको छ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या १ सय २० पुगेको हो।

निकुञ्जको संरक्षण क्षेत्र बाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ट्रयाप विधिबाट हिउँ चितुवाको गणना गरिएको थियो। जसअनुसार डोल्पामा मात्रै सबैभन्दा धेरै हिउँ चितुवाको सङ्ख्या एकिन गरिएको तथ्यांक सार्वजनिक गरिएको हो।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले शुक्रबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १।५ रहेको छ।

 

डिभिजन वन अधिकृत रावतका अनुसार तीनवटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो। डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताहरूसहित भएर हिउँ चितुवाको संख्या अध्ययन गरिएको बताइएको छ।

जसकालागि वन क्षेत्रमा पर्ने ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो। विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।

चार वर्षअघि क्यामेरा ट्रयाप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुन्डो निकुञ्जको संरक्षित क्षेत्रमा मात्रै ९० वटा फेला परेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए। प्राप्त तथ्यांकअनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २।२ रहेको उनले बताए। ‘निकुञ्ज र वन क्षेत्र गरेर कुल संख्या १ सय २० पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीका लागि खुसीको कुरा हो, हिउँ चितुवाका लागि आवश्यक आहार प्रजाति नावरको संख्या वृद्धि हुनाका कारण पनि संख्या बडेको पाइएको छ’ श्रेष्ठले भने। हिउँ चितुवाको संख्या वृद्धि भएसँगै मावन वन्यजन्तु ‘द्वन्द्व घटाउने उपाय अपनाउनका लागि सम्बन्धित निकायले जनचेतना मूलकलगायत विभिन्न राहतका कार्यक्रमहरू प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने उनको भनाइ छ।

हिँउ चितुवाको संख्या वृद्धि हुनुले पर्यापर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने बताइएको छ। जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा वन तथा भू–संरक्षण विभाग र विश्व वन्यजन्तु कोषका प्रतिनिधि, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि,सञ्चारकर्मीहरूको भौतिक तथा भर्चुवल उपस्थितिमा हिउँ चितुवाको तथ्यांक सार्वजनिक गरिएको थियो।हिँउ चितुवा गणनाका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको भएको सर्वेक्षणमा ४८ लाख खर्च भएको विश्व वन्य
जन्तु कोषका प्रतिनिधि चन्द्रजंग हमालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर