Aamsanchar

ताप्लेजुङ : प्रतिष्ठानद्वारा दुई व्यक्ति र एक संस्थालाई सम्मान

Author Image
आइतवार, वैशाख ९, २०८१

ताप्लेजुङ- ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले दुई व्यक्ति र एक संस्थालाई सम्मान गरेको छ । सदरमुकाम फुङ्लिङमा आइतबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कारसहित सम्मान गरेको हो ।

प्रतिष्ठानद्वारा सम्मानित हुनेमा पत्रकारतर्फ नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कार्यसमिति सदस्य तथा स्थानीय रेडियो तमोर १०२ मेघाहर्जमा कार्यरत मनमाया माबो लिम्बू रहनुभएको छ । यस्तै सामाजिक व्यक्तित्वतर्फ जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ निवासी हर्कबहादुर यक्सो लिम्बू सम्मानित हुनुभएको छ ।

प्रतिष्ठानद्वारा सम्मानित यक्सो हाङ्पाङस्थित सरस्वती माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षणमा आवद्ध भई अन्य विभिन्न सामाजिक सेवामा क्रियाशील रहँदै आउनुभएको छ । समाजसेवी यक्सो र पत्रकार माबो समान १० हजार १०५ रुपियाँ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।

त्यस्तै, संस्थातर्फ नेपाल रेडक्रस सोसाइटी मैवाखोला गाउँपालिका–३ साँघु उपशाखा सम्मानित भएको छ । रेडक्रस उपशाखामध्ये उत्कृष्ट छनोट भई साँघु उपशाखा १५ हजार १०५ रुपियाँ नगदसहित पुरस्कृत भएको छ । सम्मानितलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य लगायतले पुरस्कार राशी तथा सम्मानपत्र वितरण गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६७ साल कात्तिक ११ गते असामयिक निधन भएको थियो । स्वर्गीय गौतमको नाममा स्थापित प्रतिष्ठानले उहाँको जन्मदिनको अवसर पारेर २०६८ सालयता प्रत्येक वर्ष वैशाख ९ गतेका दिन तीन विधामा सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर