Aamsanchar

५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक छ ।

पूर्व–पश्चिम राजमार्गको छेउमै रहेको यस क्षेत्रमा स्वदेशी एवम् भारतीय तीर्थयात्रीले पनि दर्शन गर्ने गरेका छन् । हनुमान भक्तहरूले यहाँ हनुमानको पूजा आराधना गर्नुका साथै प्रसादी वितरण गर्ने गरिन्छ ।

मङ्गलबार हनुमान जयन्ती उत्सवका अवसरमा यहाँ पूजापाठसहित प्रवचन एवं प्रसाद वितरण कार्यक्रम गरिएको थियो । रामभक्त हनुमान सेवा समिति हेटौँडा –१० गोरक्षश्वर मन्दिर मकवानपुरले गरेको हनुमान जयन्ती मङ्गलवार परेको र विशेष दिन भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा करिव ६ सय साधु, सन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलाई प्रसादिको व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र इटेनीले जानकारी दिनुभयो ।

हेटौँडाको गोरक्षश्वरबाट सुरु भएको रैली पीपलबोटसम्म पुगेर पुनः हनुमान मन्दिर परिसरमा आएर समापन भएको थियो । यस वर्षको हनुमान जयन्ती धेरै वर्षपछि मङ्गलवार परेकाले हेटौँडाको गोरक्षश्वर परिसरमा पहिलो पटक हनुमान जयन्ती उत्सव मनाइएको आयोजक सन्दीप सापकोटाले जानकारी दिनुभयो ।

सम्पदा र संस्कृतिको संरक्षण एवम् संवर्धनका लागि आगामी वर्षदेखि नगर चाडको रुपमा रथयात्रासहित हनुमान जयन्ती उत्सव मनाउने तयारी गरिएको उहाँले बताउनुभयो । आर्य संस्कृतिमा चैत्र शुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ ।

महावीर हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनाको कोखबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जना श्रापबाट मनुष्य योनिमा जन्म लिएकी थिइन् । वर्षौँसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनाले भगवान् शिवको कठोर तपस्या गरी वरदान र पवनदेवको आशीर्वादबाट तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी थिइन् । मङ्गलबार र शनिबारको दिन हनुमानको स्तोत्रपाठ गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर